प्रेश विज्ञप्ति (२०८३ बैशाख १६)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने व्यवसाय दर्ता, स्वदेशी तथा वैदेशिक लगानी आकर्षण, बौद्धिक सम्पत्ति दर्ता र संरक्षण, कम्पनी प्रशासन, आयात निर्यात व्यापार सहजीकरण, बजार अनुगमन, उपभोक्ता हित संरक्षण, गुणस्तर निर्धारण तथा नियमन, नापतौल, खानी प्रशासन, खानी खोजतलास र उत्खनन ईजाजत लगायतका सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको छ। विभागहरूले प्रवाह गर्ने कतिपय सेवाहरूलाई अनलाइनरूपमा प्रवाह गरिएको छ र थप सेवाहरू पनि सूचना प्रविधि प्रणालीहरूबीच अन्तरआवद्धता कायम गरी अनलाइनबाट प्रवाह गर्ने कार्य अघि बढाइएको छ। उद्योग विभागमा लगानीकर्तालाई एउटै बिन्दुबाट सबै प्रकारका सेवा प्रवाह गर्न स्थापना भई सञ्चालनमा रहेको एकल बिन्दु सेवा केन्द्रलाई थप प्रभावकारी बनाउन भर्चुअल एकल बिन्दु सेवा बनाउने कार्य शुरू भइसकेको छ।
यस मन्त्रालय र सेवाग्राहीबीच आपसी विश्वास वृद्धि गरी सेवा प्रवाहमा सकारात्मक सुधार आउने अपेक्षासहित मन्त्रालय र अन्तर्गतका निकायबाट प्रवाह हुने सेवाका सम्बन्धमा सेवाग्राहीको कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित निकायको गुनासो सुनुवाई संयन्त्रका साथै मन्त्रालयले प्रयोगमा ल्याएका QR Code, ईमेल, निवेदनलगायतका बहुच्यानलको प्रयोग गरी प्राप्त गुनासो सम्बोधनको व्यवस्था गरिएको जानकारी गराइन्छ।
साथै, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू समक्ष सिधै आफ्ना भनाई, गुनासो तथा सुझाव राख्नु परेमा यस मन्त्रालयको वेबसाइटको गृहपृष्ठमा रहेको "मन्त्रीलाई आफ्नो कुरा लेख्नुहोस्" क्लिक गरी खुल्ने फाराम भरी वा minister@moics.gov.np मार्फत जानकारी गराउनुहुन अनुरोध गरिन्छ।
२०८३ वैशाख १६
(नेत्रप्रसाद सुवेदी)
सहसचिव एवम् प्रवक्ता